काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरूलाई राजनीति गर्नबाट रोक्न नसके देश रूपान्तरणको सम्भावना नरहेको दाबी गर्नुभएको छ।
आज काठमाडौँमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मिश्रले सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक र कर्मचारीहरू नेपालबाहेक कुनै पनि देशमा नरहेको बताउनु भएको हो।
उहाँले सरकारी कार्यालयमा सात युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसक्ने स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो,यो बुर्जुवा शिक्षा भयो र यो शिक्षा प्रणालीबाट देशको रूपान्तरण हुँदैन भनेर आएका नेताहरूले नै आज आफ्ना छोराछोरी निजी स्कुलमा पढाउनु यो पीडाको विषय हो।
उहाँले देशमा सरकारी काम गर्ने कर्मचारीलाई राजनीति गराएर तथा कर्मचारीतन्त्रमा प्रभाव पारेर देश सम्पन्न बन्न नसक्ने जिकिर गर्नुभयो।