काठमाडौं। माओवादी घटक दलहरूले आगामी चैत २७ गते अन्तर्क्रिया गर्ने भएका छन्। शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयमा काठमाडौँको प्रज्ञा भवनमा अन्तर्क्रिया गर्ने भएका हुन्।
द्वन्द्वरत पक्ष र विपक्ष दुबैलाई राखेर अन्तर्क्रिया गरिने नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताउनुभयो।शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउनु माओवादीको मात्रै नभएर राज्यको दायित्व भएको बुढाले बताउनुभयो।
माओवादी घटकमा नेकपा माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी,कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी,प्रभु साह नेतृत्वको आमजनता पार्टी एक ठाउँमा उभिएका छन्।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी,धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत,गोपाल किराती नेतृत्वको पार्टी र सन्तबहादुर नेपाली नेतृत्वको पार्टी माओवादी धारको बैठकमा अनुपस्थित हुने गरेका छन्। आगामी २७ गते हुने कार्यक्रम बोलाए पनि उपस्थित हुने वा नहुने विषयमा टुङ्गो नलागेको यो समूहले बताएको छ।