काठमाडौं। नेकपा एमालेका नेता सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सय दिने कार्यकाल विश्लेषण गर्न लायक नरहेको टिप्पणी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता थापाले प्रचण्डको कार्यकाल कहिलेदेखि गणना गर्ने भन्ने नै ‘कन्फ्युज’ भएको भन्दै यस्तो आलोचना गर्नुभएको हो।
उहाँले भन्नुभयो, ‘बिचरा प्रचण्डको सय दिन कहिले कता कहिले कता गर्दैमा बित्यो। प्रचण्डको कार्यकाल कहिलेदेखि गणना गर्ने ? पुस १० देखि गर्ने कि कहिलेदेखि गर्ने ? बडा कन्फ्युज भयो। उहाँमा कुनै मर्यादा, इमान र निष्ठा छैन, सीमाहीन अराजकता छ।’
नेता थापाले प्रचण्डको सरकारले सिन्का पनि नभाँचेको गर्दै भन्नुभयो, ‘म प्यूठानबाट निर्वाचित सांसद हुँ। संसदबाट एउटा पनि कानुन बनेन। संसदबाहिर कानुन बनाउने गुरिल्ला ट्रेल छ भने बनाउनुभयो होला। उहाँमा कुनै निष्ठा छैन। सिंहदरबारमा फोटो राख्नेबाहेक कुनै काम भएका छैनन् ।’