काठमाडौं। खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुहुने भएको छ। जनमत पार्टीबाट मन्त्री बन्नुभएका खानले आज राजीनामा दिन लाग्नुभएको हो।
मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालय पाउने अपेक्ष गरेपनि खानेपानी नै पाएपछि मन्त्री खानले राजीनामा दिन लाग्नुभएको जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताउनुभयो ।
‘जनमत पार्टीले सुरुदेखि कृषि र उद्योग मन्त्रालय माग गर्दै आइरहेको थियो। प्रधानमन्त्री प्रचण्डले तत्काललाई खानेपानी मन्त्रालयमा सम्हाल्नु, पछि मिलाउन भनेको तर अहिले खानेपानी मन्त्रालय नै कायम राखेका कारण मन्त्री खानले राजीनामा दिएका हुन्’ उहाँले भन्नुभयो।
जनमत पार्टी मन्त्रालय बाँडफाँटमा उद्योग मन्त्रालय पाउनेमा ढुक्क थियो। तर खानेपानी मन्त्रालय नै कायम रहने कुरा बाहिर आएपछि मन्त्री खानले राजीनामा दिनुभएको हो। मन्त्री खान अहिले राजीनामा पत्र बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगि सक्नुभएको हो।