Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा

डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा

  • शुक्रवार, चैत्र १७ २०७९

  • 526
    SHARES

  • डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा
    काठमाडौं । संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित अदालतमा आपराधिक अभियोग दर्ता भएको छ । राष्ट्रपति भएपछि अमेरिकाको कुनै पनि अदालतमा आपराधिक अभियोग दर्ता भएका उनी पहिलो पूर्वराष्ट्रपति हुन् ।
     
    हालसम्म उनीविरुद्ध कतिवटा अभियोग लगाइएको छ भन्ने स्पष्ट नभए पनि २०१६ मा राष्ट्रपतिको निर्वाचन ताका पूर्वपोर्नस्टार स्ट्रोमी ड्यानियल्सलाई चुप लगाउन १ लाख ३० हजार अमेरिकी डलर दिएको मुख्य अभियोगमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।
     
    उनले ड्यानियल्सलाई दिएको रकमलाई कानुनी रूपमा स्पष्ट नखुलाई व्यापारिक प्रयोजनका लागि भनेर उल्लेख गरेको र उक्त कार्य न्युयोर्क राज्यको कानुन अनुसार गैरकानुनी रहेको पाइएपछि उनीविरुद्ध अदालतमा अभियोजन दर्ता भएको हो ।
     
    ट्रम्प आगामी मंगलबार अदालतमा हाजिर भएर आफ्नो प्रतिरक्षा गर्ने अपेक्षा गरिएको छ । उनले आफूविरुद्ध लगाइएको आरोप गलत र राजनीति प्रेरित रहेको प्रतिक्रिया दिएका छन् । उनले आफू अमेरिकी नागरिकको पक्षमा लगातार उभिएकाले गलत आरोप लगाएर दुःख दिन खोजेको बताएका छन् ।
     
    अमेरिकी संचार माध्यमहरूका अनुसार ट्रम्पविरुद्ध व्यापारिक धोकाधडीका करिब दुई दर्जन अभियोग लगाइएका छन् । तर, सो कुरा कतैबाट पनि स्वतन्त्र रुपमा पुष्टि भने भइसकेको छैन । पूर्वराष्ट्रपतिको समर्थनमा रहेका रिपब्लिकन नेताहरूले यसलाई राजनीतिक घटनाका रुपमा प्रतिरक्षा गरिरहेका छन् भने डेमोक्र्याटहरूले भने कोही पनि कानुनभन्दा माथि नभएको प्रतिक्रिया दिएका छन् ।
     
    २०१६ मा ट्रम्पले पूर्वपोर्नस्टार ड्यानियल्सले आफ्नो ट्रम्पसँग सम्बन्ध रहेको बताएपछि राष्ट्रपति निर्वाचनको तयारीमा रहेका ट्रम्पले आफ्नो वकिल माइकल कोहेनमार्फत १ लाख ३० हजार डलर दिएका थिए । पछि कोहेनलाई उनको कानुनी सेवाका लागि भनेर उल्लेख गर्दै सो रकम फिर्ता गरेका थिए । न्युयोर्क राज्यमा खर्चको विवरण गलत तवरमा उल्लेख गर्नु कानुनी अपराध हो । सोही कानुनका आधारमा उनीविरुद्ध अदालतमा अभियोजन दर्ता भएको हो ।


    शुक्रवार, चैत्र १७ २०७९०२:२९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij