काठमाडौं।सत्ता गठबन्धन दलहरुले मन्त्रिपरिषद् बिस्तारमा अन्तिम सहमति जुटाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका केही दलहरुले भने सरकारमा स्थान पाएनन्। आफ्नै अडानका कारण रास्वपाले सरकार गुमाएको आंकलन गरिएको छ। प्रधानमन्त्री प्रचण्डले चैत १० गतेभित्र मन्त्रिपरिषद् बिस्तार गर्ने बाचा गरेपनि त्यो पूरा हुन सकेन ।
धेरै दलहरुलाई मिलाएर जानुपर्ने बाध्यता र उनीहरुको विभिन्न मन्त्रालयमा दाबीका कारण मन्त्रिमण्डल बिस्तारमा ढिलाइ भएको हो । आजै मन्त्रिपरिषद् बिस्तार गरेर शपथ गराउने तयारी भएपनि प्रधानमन्त्रीको व्यस्तताका कारण त्यो सफल हुन सकेन । आज प्रधानमन्त्री प्रचण्ड बालुवाटारबाटै हेलिकप्टर मार्फत् चितवनका विभिन्न कार्यक्रममा सहभागी हुन जानुभएको थियो ।
यता, नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको भागमा परेको मन्त्रालयअनुसार मन्त्रीको नाम पठाउने प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो । १० दलीय गठबन्धनमा कांग्रेसलाई ८ मन्त्री भागमा परेको छ । मन्त्री पठाउँदा योगदान, दक्षता, समावेशीता र प्रदेशिक सन्तुलन मिलाएर पठाउने महतले जानकारी दिनुभयो ।
यसैबीच, गठबन्धनको भागबन्डामा कांग्रेसले पाएको ८ मन्त्रालयमध्ये इतर समूहले ३ मन्त्री दाबी गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकपछि शेखर–गगन समूहले छुट्टै छलफलपछि तीन मन्त्रीको अडान राखेको हो । देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा मन्त्रीहरुलाई सरकारमा पठाउने लगभग सहमति बनिसकेको छ ।
इतर समूहको बैठकमा कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे, अर्जुननसिंह केसीलगायत नेता सहभागी भएका थिए । कोइराला आफैं सरकारमा जान इच्छुक भएपनि पार्टीबाट नेतृत्व गरेर जान नपाउने भएपछि उनी ब्याक भएको बताइएको छ ।
सरकारमा सहभागी अन्य साना दलहरुले भने मन्त्रीको नाम टुंग्याइसकेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिएर जनतालाई डेलिभरी दिनु र विकास निर्माणका साथै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने अहिलेको सरकारका चुनौती रहेका छन् ।