काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिर नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल भएको बताउनुभएको छ।
आज पशुपतिनाथ क्षेत्रमा ऐतिहासिक पौराणिक महत्वको वनकाली उद्यानको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व रहेको र पशुपतिनाथ मन्दिर नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल भएको बताउनुभएको हो ।
उहाँले हिन्दू धर्मावलम्बी तथा पर्यटकसमेत आउने तीर्थस्थललाई यथोचित रुपमा व्यवस्थित गर्न वनकाली उद्यानको विशेष महत्व रहेको उल्लेख गर्नुभयो। पशुपति परिसरभित्र पूजाआजा र अन्य व्यवस्थापनका सम्पूर्ण काम पशुपति क्षेत्र विकास कोषबाट हुनुपर्ने उहाँको भनाइ छ।
राष्ट्रपति पौडेलले पशुपति क्षेत्रको विकासका लागि बृहत् गुरुयोजना निर्माण गरी यस क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो।