काठमाडौं। कांग्रेस नेता तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आगामी बैशाख १० मा हुन लागेको उपचुनावमा तनहुँ १ बाट उमेद्वारी दिने चर्चा चलेसँगै काँग्रेसमा तरङ्ग पैदा भएको छ ।
रास्वपाले डा. वाग्लेलाई उम्मेदवार बन्न प्रस्ताव गरेको सूचना बाहिरिएपछि का।ग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापासहितका नेताहरु छलफलमा जुटेका छन् । वाग्लेलाई रोक्न महामन्त्रीद्वय यतिबेला छलफलमा जुटेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार महामन्त्रीद्वयले वाग्लेलाई छलफल गर्न भन्दै पार्टी कार्यालय सानेपामा बोलाए पनि वाग्ले अस्वीकार गर्नुभएको छ। अबको केही बेरमा सानेपा बाहिरको कुनै ठाँउमा बसेर वाग्लेसँगै छलफल गर्ने तयारी छ।
महामन्त्रीद्वयले पार्टी सभापति शेरबहादुर देउवालाई यसबारे अवगत गरासकेको र वाग्लेजत्तिको सम्भावना भएको नेतालाई गुमाउन नहुने भन्ने सुझाव दिनुभएको बताईएको छ।
महामन्त्रीद्वय थापा र शर्माले सम्भावित विकल्प र अरु अवसरहरुबारे समेत कुरा गर्नुपर्ने ठानेका कांग्रेस स्रोतले बताएको छ। उता रास्वपा प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनाव उम्मेदवार बनाउन कुरा भइरहेको बताइसक्नु भएको छ।
रास्वपाबाट तनहुँमा उम्मेदवार बन्ने विषयमा वाग्लेको औपचारीक प्रतिक्रिया आउन भने बाँकी छ। वाग्लेले गत ४ मंसिरको चुनावमा कांग्रेसको चुनाव घोषणापत्र तयारी समितिमा रहेर काम गर्नुभएको थियो ।