काठमाडौं। नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसदमा नियमापत्ति जनाएपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले माफी माग्नु भएको छ।प्रतिनिधि सभा नियमावलीको २०(६) लाई उल्लेख गर्दै सांसद बर्तौलाले उक्त प्रावधान उल्लंघन गरी मर्यादा विपरित काम भइरहेको बताउनुभयो ।
‘सभामुखको आसन तथा बोलिरहेको समयमा सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति हुँदैन,’ सांसद बर्तौलाले भन्नुभयो,‘सदनको गरिमालाई धज्जी उडाउँदै माननीय सदस्यबाट यसप्रकारको काम भइरहको छ।’
सत्ता पक्षका सांसदबाटै नियमावली उल्लंघन गरिएको बर्तौलाले बताउनुभएको थियो। बर्तौलाले ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले उचित ध्यान पु¥याउन सदनमा निर्देशन दिनुभयो।
त्यस लगत्तै उठेर कांग्रेस सांसद खड्काले बोल्न खोज्नुभयो। खड्कालाई बोल्न सभामुखले समय दिएपछि उहाँले भन्नुभयो,‘अनदेखा कारणले नियमावलीको त्यो दफालाई उल्लंघन गरें। त्यसका लागि म क्षमा चाहन्छु ।’