काठमाडौं । राष्ट्रिय जनमोर्चाले राहदानी प्रकरणमा रास्वपपा अध्यक्ष रवि लामिछानेलाई सफाइ दिएकोमा बिरोध र भर्त्सना गरेको छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार विज्ञप्ति जारी गर्दै राहदानी प्रकरणमा लामिछानेका विरुद्ध मुद्दा चलाउने आधार नभएको भनि निजलाई सफाइ दिएकोमा भर्त्सना गर्नुभएको हो ।
उहाँले रवि लामिछानेले विवरण ढाँटी नेपालको राहदानी लिएको भन्दै उनीमाथि कानुनतः मुद्दा चल्नुपर्ने बताउनुभयो। राहदानी प्रकरणमा लामिछानेलाई सफाइ दिने सरकारको कार्यको घोर विरोध तथा भर्त्सना गर्दै लामिछानेको पार्टी अमेरिकी साम्राज्यवादको स्वार्थपूर्तिका लागि बनेको दावी जनमोर्चाको छ ।
‘त्यसकारण त्यो संगठनको गतिविधिका कारणले देशको सार्वभौमिकता र राष्ट्रियतामा गम्भीर आँच पुग्ने कुरा थाहा हुँदा हुँदै पनि सरकारले विश्वासको मत लिनका लागि उनीप्रति अपनाएको नीति भर्त्सनायोग्य छ’, जनमोर्चाको भनाइ छ ।