काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भागबण्डाका आधारमा केही दिनमा प्रदेश सरकार पुनर्गठन हुने दाबी गर्नुभएको छ।आज गोरखामा सडक शिलन्यास गर्न पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत पाएकाले अब केन्द्र र प्रदेश सरकार पुर्नगठन हुने बताउनु भएको हो।
उहाँले भन्नुभयो,‘प्रदेश सरकारहरु गठन, पुनर्गठन गर्ने कुरामा पनि हामीले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा प्रदेश सरकारलाई पूर्णता दिने, त्यसबाट पनि जनताका विकास निर्माण र समृद्धिका आकांक्षा सम्बोधन गर्ने एकीकृत रुपमा अगाडि बढाउँछौं।’
उहाँले सरकारलाई पूर्णता दिने प्रक्रियामा रहेको र दलहरुबीच गम्भीर छलफल भइरहेको जानकारी गराउनु भयो । प्रचण्डले भन्नुभयो,‘अब हामी केन्द्र र प्रदेश सरकारलाई पूर्णता दिने प्रक्रियामा छौं। आज बिहानबाटै नेपाली कांग्रेसलगायत अन्य दलसँग गम्भीर छलफल सुरु भएको छ।’
संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न बृहत्तर बैठक छिट्टै आयोजना गर्ने उहाँले बताए। उहाँले भन्नुभयो, ‘विकासलाई गति दिन र विकासको मोडालिटीबारे पनि छलफल गरिन्छ।’