काठमाडौं। नेकपा एकीकृत समाजवादीले सरकारमा जाने गृहकार्य गर्न कार्यदल बनाएको छ। आज केन्द्रीय कार्यालयमा बसेको ५४ औं सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्षद्वय प्रमेश हमाल र बेदुराम भुसाल रहेको कार्यदल गठन गरेको हो।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सचिवालय बैठकमा समसामयिक राजनीति, केन्द्र र प्रदेश सरकारलगायत विभिन्न विषयमा छलफल गरिएको जानकारी दिनुभयो ।उहाँका अनुसार सरकार गठन प्रक्रियाबारे गृहकार्य गर्न अध्यक्ष नेपालसहित रहेको कार्यदल गठन गर्ने सचिवालय बैठकले निर्णय गरेको छ।
यो कार्यदलले गठबन्धन बैठकमा पार्टीले पाउने मन्त्रालयबारे छलफल गर्ने, सरकारमा जाने मन्त्रीहरू छान्ने, नीति तथा कार्यक्रम बनाउने, केन्द्रदेखि प्रदेशसम्म मन्त्रालय बाँडफाँटलगायतबारे गृहकार्य गर्ने पनि उहाँको भनाइ छ।
एकीकृत समाजवादीले गृह मन्त्रालय दाबी गरेकोबारे पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता खतिवडाले अहिलेसम्म यही मन्त्रालय हुनुपर्छ भनेर दाबी नगरिएको बताउनुभएको थियो ।
एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा १० जना सांसद छन्। एकीकृत समाजवादीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो।