काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको हो ।
जसअनुसार प्रचण्डलाई विश्वासको मत रहेको पक्षमा १७२ जना सांसदको मत परेको छ, यस्तै ८९ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नरहेको पक्षमा मतदान गरे भने एक सांसद तटस्थ बसेका थिए ।
विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले पुस १० गतेको सहमतिलाई तोड्नुको कारण खुलाउनुभएको थियो। संसदबाट ९९ प्रतिशत सांसदहरुले विश्वासको मत दिएको प्रधानमन्त्रीका अगाडि प्रतिनिधिसभा विघटन ठिक थियो भन्नु गलत रहेकोले एमालेको साथ छोडेको उहाँको भनाइ थियो।
संसदमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुकको नेतृत्व गरेको व्यक्ति विचलित भएपछि विश्व सामु गलत म्यासेज गएको दाबी गर्नुभयो। पुस १० गते एमालेको शरणमा आएका प्रचण्डले स्वार्थ पूरा गरेपछि विगत बिर्सिएको उहाँको आरोप थियो। आफूले गरेका बाचाबाट पन्छिँदै गएकोले मुलुक थप संकटतर्फ धकेलिएको पौडेलको दाबी थियो।
नेपाली कांग्रेसले भने स्थिरताका लागि भएपनि राष्ट्रिय सहमति खोजिनुपर्नेमा जोड दिँदै आएको छ।सभापति शेरबहादुर देउवाले संसदमा सम्बोधन गर्ने क्रममा विगत सम्झिदै संविधान निर्माणदेखि नाकाबन्दीसम्म सबै दलहरुले सहकार्य गरेकोले आउँदा दिनमा पनि मिलेर जानुको विकल्प नभएको जिकीर गर्नुभयो।
मुलुकको राजनीतिमा पुस १० गतेपछि आएको परिवर्तनले प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। ११ गते शपथ ग्रहण गर्नुभएका प्रचण्डले पुस २६ गते कांग्रेसको समेत विश्वासको मत पाएसँगै राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने बताउनुभएको थियो। जसमा नेकपा एमाले तरंगित भएको थियो ।
एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई समर्थन गर्नुपर्ने बताएपछि प्रचण्ड पन्छिदै जानुभएको थियो। फलस्वरुपः फागुन १३ गते एमाले माओवादीको सहकार्य टुंगिएको थियो। अहिले प्रचण्डले संसदबाट दोस्रोपटक विश्वासको मत प्राप्त गर्नुभएको छ। ११ दलको समर्थन लिनुभएका प्रचण्डलाई मन्त्रिपरिषद् बिस्तारमा भने सकस पर्ने देखिएको छ ।