Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सभामुख घिमिरेको अभिव्यक्तिप्रति प्रेस युनियनको आपत्ति

सभामुख घिमिरेको अभिव्यक्तिप्रति प्रेस युनियनको आपत्ति

  • शनिवार, चैत्र ४ २०७९

  • 284
    SHARES

  • सभामुख घिमिरेको अभिव्यक्तिप्रति प्रेस युनियनको आपत्ति

    काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले हिजो (शुक्रबार) दिएको एक अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ। सभामुख घिमिरेले पत्रकारिता पेसा र पत्रकारको व्यावसायिक मर्यादामा आँच पुर्‍याउने गरी ‘पत्रकारहरु बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति युनियनले गम्भीर ध्यानाकर्षण भएको समेत बताएको छ।

    तटस्थ, निष्पक्ष, स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने गरिमामय पदमा आसीन सभामुखबाट पत्रकारलाई नै साक्षी राखेर दिएको नेपालको स्वतन्त्र प्रेसविरुद्धको अभिव्यक्ति अपरिपक्क र अशोभनीय रहेको युनियनले बताएको छ।

    ‘पत्रकारले भ्रष्टाचार, अनियमितता, बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएका छन्। सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन सञ्चारसँग सम्बन्धित कानुन बनाउन सहजीकरण गर्नुपर्ने सभामुखले समग्र पत्रकारिता क्षेत्रलाई आक्षेप लगाउनु दुःखद् हो’, युनियनका महासचिव दिलीप पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको राजनीतिक, सामाजिक, प्रशासनिक लगायतका क्षेत्रमा जस्तै पत्रकारिता क्षेत्रमा कमजोरी नभएका होइनन्।

    पत्रकारितामा देखिएका कमी, कमजोरीलाई कानुन बनाएर विधि र पद्धतिबाटै सुधार गर्दै लैजानुपर्छ भन्ने युनियनको मान्यता छ। तर, सभामुखबाट समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने गरी अभिव्यक्त विचार निन्दनीय छ। यस्ता अपरिपक्क र गैरजिम्मेवार अभिव्यक्ति नदिन नेपाल प्रेस युनियन हार्दिक आग्रह गर्दछ।’

    युनियनले लोकतन्त्र, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, व्यावसायिक पत्रकारितामा विश्वास राख्ने गरेको पौडेलले बताएका छन्। सञ्चार क्षेत्रका समस्यालाई न्यूनिकरण गर्दै व्यावसायिक, जवाफदेही बनाउन नेपालको प्रेस जगत प्रतिवद्ध रहेको युनियनले बताएको छ।

    ‘अपरिपक्व, गैरजिम्मेवार, अराजनीतिक अभिव्यक्ति नदिन, जवाफदेही रूपमा आफ्ना विचार राख्न, पत्रकारिता पेसालाई सम्मान गर्न नेपाल प्रेस युनियन सम्बन्धित पक्षसँग आग्रह गर्दछ’, युनियनको विज्ञप्तिमा भनिएको छ।


    शनिवार, चैत्र ४ २०७९१२:३६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij