काठमाडौं। नेपाली क्रिकेटको लागि हिजो बिहीबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदान विशेष बन्यो । हजारौं दर्शकका बीचमा घरेलु मैदानमा युएईलाई ‘डकवर्थ लुइस‘ पद्धतिमा हराउँदै नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीनमा रहन सफल भयो । यस जितसँगै नेपालले जिम्बाब्वेमा १८ जुनदेखी ९ जुलाईसम्म हुने एकदिवसीय विश्वकप–२०२३ को छनोट प्रतियोगितामा स्थान बनाएको छ । विश्वकप छनोटमा १० टिमबीच खेल हुनेछ ।
हजारौं दर्शक उर्लिएको कीर्तिपुर मैदानमा नेपालले हिजो उत्कृष्ट खेल देखायो । जसले गर्दा सबै नेपालीको मन र भावना एकैठाँउमा हुन पुग्यो । राजनीतिक अन्योल र आर्थिक निराशाका बीचमा नेपाली जनताले खेलका माध्यमबाट खुसी हुने मौका पाए । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले खेलाडी, मुख्य प्रशिक्षक र समर्थक लगायत सम्बद्ध सबै धन्यवादका पात्र भएको भन्दै आभार व्यक्त गर्नुभएको छ ।
भारतीय प्रशिक्षक मोन्टी देसाईले ३८ दिनअघि नेपाली टोलीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि खेलेका १२ मध्ये ११ खेल नेपालले जितेको छ । नेपाली खेलाडीका पछाडि समर्थकको योगदान पनि प्रशंसा गर्न लायकको रहेको छ । हिजोको खेल हेर्न हजारौं दर्शक बस्ने कुर्ची नहुँदा पनि चौरमा बसेर र रुखमा चढेर खेलाडीलाई उच्च मनोबल दिइरहेका थिए ।
अन्य देशको क्रिकेट खेलमा पूर्वाधार र अन्तराष्ट्रिय सुविधा बढी छ । तर हाम्रो देशका खेलाडी उचित सुविधा नपाईकन पनि आफ्नै मिहिनेतले खेल खेलिरहेका छन् । राज्यले पूर्वाधारमा ध्यान दिएको छैन । क्रिकेटलगायत सम्भावना भएका खेलमा राज्यले लगानी र सुविधा बढाउनुपर्नेमा क्यान अध्यक्ष चन्दले जोड दिनुभएको छ ।खेलाडीको मनोबल उकास्न उपयुक्त उपायहरू अपनाउन सरकारले कदम चाल्नु आवश्यक देखिन्छ।
विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको छ । अन्य प्रदेशले पनि सम्मान स्वरूप रकम घोषणा गरेका छन् । तर जित्दा बित्तिकैको आर्थिक सम्मान भन्दा खेलका लागि पूर्वाधार र खेलाडीको जीवन सहज हुने खालका सुविधा राज्यबाट भयो भने खेल र खेलाडीको भविष्य राम्रो हुन्छ ।विजेता खेलाडीहरूलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कारको घोषणा र बधाई दिनुभएको हो ।
खेल मैदानमा पूर्वाधारको स्थितिबारे हिजो मैदान पुगेर आफ्नै आँखाले देख्नुभएका प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई आज नै निर्देशन दिनुभएको छ ।
राष्ट्रिय क्रिकेट टोलीलाई आज शितलनिवासमा बोलाएर राष्ट्रपति रामचन्द्र पौडेलले पनि आज बधाई दिनुभएको छ । बिहीबारको खेल संगै नेपाली क्रिकेटको अन्य देशमा पनि चर्चा परिचर्चा भएको छ । नेपालीले खेल र खेलाडीप्रति गर्ने सम्मान र हौसला पनि सफलताको अर्को महत्त्वपूर्ण पाटो बनेको छ । सबै ठाउँमा एक हुन नसकेका नेपालीको मन खेलमा भने एक ठाउँमा छ । खेलाडीको मिहिनेत र जनताले दिने हौसलाले मात्र खेल क्षेत्रलाई अगाडि बढाउन र विश्वसामु चिनाउन कठिन छ ।
सरकारले मैदानमा गएर हात हल्लाउँदैमा खेलाडीलाई हौसला मिल्छ भन्ने होइन । खेल र खेलाडीलाई हौसला दिन सरकारले क्रिकेट रंगशाला अघि बढाउने विषयमा ठोस निर्णय लिएर अगाडि बढोस् । मैदानमा रगत र पसिना बगाउने खेलाडीको जीविकोपार्जनबारे पनि सरकारको ध्यान जान जरुरी छ । नेपाली क्रिकेटलाई यहाँ सम्म पु¥याउने खेलाडी र समर्थन, सहयोग गर्ने सबै टिममा हार्दिक नमन् । आगामी दिनका खेलमा पनि नेपाललाई यस्तै सफलता मिलोस् शुभकामना ।