Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

निवर्तमान राष्ट्रपति भण्डारीको कार्यकाल सकिएसँगै विभिन्न बहस शुरु,आलोचनाबाट मुक्त रहिनन् भण्डारी (खासखबर)

निवर्तमान राष्ट्रपति भण्डारीको कार्यकाल सकिएसँगै विभिन्न बहस शुरु,आलोचनाबाट मुक्त रहिनन् भण्डारी (खासखबर)

  • मंगलवार, फाल्गुण ३० २०७९

  • 321
    SHARES

  • निवर्तमान राष्ट्रपति भण्डारीको कार्यकाल सकिएसँगै विभिन्न बहस शुरु,आलोचनाबाट मुक्त रहिनन् भण्डारी (खासखबर)

    काठमाडौं। निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको सातवर्षे कार्यकाल सकिएसँगै विभिन्न बहस शुरु भएका छन्। कतिपयले राष्ट्रपति भण्डारीले राम्रो भूमिका निर्वाह गरेको बताएका छन् भने कतिपयले दलको निर्देशन अनुसार चलेर विवेक प्रयोग गर्न नसकेको रुपमा अथ्र्याएका छन् । संविधानले दिएको सीमाभित्र बसेर राष्ट्रपतिले आफ्नो कार्य गर्नुपर्नेमा कतिपय विषयले भने उहाँलाई विवादरहित बनाउन सकेन। माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार राष्ट्रपति दलीय रंगबाट मुक्त हुन सक्नुभएन । उहाँको शालीनता र धैर्यता विषयमा भने टिप्पणी गर्ने बाटो छैन।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने निर्वतमान राष्ट्रपतिको निकै प्रशंसा गर्नुभएको थियो। महिलालगायत सिंगो नागरिकको प्रतिनिधित्व गर्दै राष्ट्रपति बन्नुभएकी भण्डारीलाई दोष लगाउने बाटो नभएको उहाँको भनाइ थियो। एमालेकै नेता लालबाबु पण्डितका अनुसार केही व्यक्ति र समूहको फरक बुझाइ भएता पनि राष्ट्रका निम्ति भण्डारीको योगदान सहारनीय रहेको छ।

    राष्ट्रपति कार्यकालका सवालमा संसद विघटनको कुरालाई विभिन्न व्यक्तिहरुले आलोचना गरिरहेका छन्। यसलाई दुई तरिकाबाट हेर्नुपर्छ। एउटा राष्ट्रपतिले मन्त्रिपरिषद्बाट निर्णय भएर प्रधानमन्त्रीले ल्याएको सिफारिसलाई रोक्दा के हुन्छ? त्यो ठाउँ संविधानले दिएको छ कि छैन? त्यस आधारमा पनि राष्ट्रपतिको रुपमा भण्डारीको भूमिका कस्तो रह्यो मूल्यांकन गर्नुपर्ने एकथरीको तर्क छ। निवर्तमान राष्ट्रपतिका सल्लाहकार लालबाबु यादवले भण्डारीको कार्यकाल सफल रहेको बताउँदै संसद विघटन संविधानको भावना अनुसार नै रहेको दाबी गर्नुभयो ।

    एमालेबाहेकको प्रधानमन्त्री वा नेताहरुलाई भण्डारीले हेर्ने दृष्टिकोण फरक पाइएको बताउँदै माओवादी केन्द्रका नेता उमेश यादवले नागरिकता विधेयक र संसद विघटनको तुलना गर्नुभयो ।

    समग्रमा निर्वतमान राष्ट्रपति भण्डारीको कार्यकाललाई लिएर धेरै ठूलो आलोचना र प्रशंसा भएको त छैन। तैपनि दुई कार्यकाल राष्ट्रपति पद सम्हालेको व्यक्तिमाथि केही प्रश्न उठ्नु स्वभाविक हो। वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले हिजोको आलोचनालाई पाठका रुपमा लिएर अगाडि बढ्नु आजको आवश्यकता पनि हो। जनता के चाहान्छन् र राष्ट्रध्यक्षको भूमिका के हो त्यसमा चुक्नु हुँदैन।


    मंगलवार, फाल्गुण ३० २०७९०८:१९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij