काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिको एउटा पक्षले आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भनेर धम्क्याउने गरिरहेको बताउनु भएको हो ।
आज काठमाडौँमा आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले कुनै दलको नाम नलिईकनै यस्तो बताउनुभएको हो। उहाँले नेपालमा मानवअधिकारको इतिहास लामो भएको भन्दै नेपालमा धेरै मान्छे राष्ट्र वा जनताको हक अधिकारका लागि लड्दा मरेको पनि बताउनुभयो।
अध्यक्ष ओलीले मानवअधिकार रक्षाका निम्ति नेपालमा सबभन्दा पहिला १९९५ मा मानव अधिकारकै संस्था खोलेर त्रिचन्द कलेजका तत्कालीन विद्यार्थी गंगालाल श्रेष्ठले पहिलो प्रवचन गरेको बताउनुभयो ।
त्यसपछि क्रमशः मानवअधिकारका क्षेत्रमा अन्य व्यक्ति र संस्थाहरू खुल्दै गएको र भूमिका खेल्दै आएको भन्दै उनले राणा शासन, पञ्चायती शासनविरुद्ध पनि मानवअधिकारका आवाजहरू उठेको बताउनुभयो ।