काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले एक साताभित्रै कांग्रेस सरकारमा सहभागी हुने बताउनुभएको छ। आज विरगंजमा सञ्चारकर्मीसँग आज कुरा गर्दै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र कांग्रेस सरकारमा सहभागी हुने तयारी भइरहेको बताउनुभएको हो।
उहाँले भन्नुभयो, ‘कुन कुन मन्त्रालय लिने र क कस्लाई मन्त्री बनाउने बिषयमा पार्टीभित्र र सरकारमा सहभागी दलहरुसँग छलफल भइरहेको छ,उपराष्ट्रपतिको चुनाव सकिने बित्तिकै हामी सरकारमा जान्छौं।’
नेपाली कांग्रेसले नौ वा १० मन्त्रालय लिएर सरकारमा जाने करिब(करिब सहमति भएको उहाँको भनाइ थियो।आठ दलीय गठबन्धनबाट उपराष्ट्रपतिका लागि तीनजनाको उम्मेदवारी परे पनि अन्तिम समयसम्ममा एकजना उम्मेदवारमा सहमति हुने जिकिर गर्दै उहाँले यस विषयमा गठबन्धन आबद्ध दलबीच प्रयास भइरहेको बताउनुभयो ।
राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल तटस्थ भूमिका निर्वाह गरेको भन्दै उहाँले राष्ट्रपति पौडेलबाट प्रजातन्त्रको स्थायित्व र संविधानको रक्षा हुने उल्लेख गर्नुभयो ।