Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धन उपराष्ट्रपति चुनावमा एकमत हुन सकेन (खास खबर)

सत्ता गठबन्धन उपराष्ट्रपति चुनावमा एकमत हुन सकेन (खास खबर)

  • शनिवार, फाल्गुण २७ २०७९

  • 537
    SHARES

  • सत्ता गठबन्धन उपराष्ट्रपति चुनावमा एकमत हुन सकेन (खास खबर)
    काठमाडौं । राष्ट्रपति चुनावमा एकमत देखिएको सत्ता गठबन्धन उपराष्ट्रपति उम्मेदवारी दर्ताको दिन आज एकमत हुन सकेन । उपराष्ट्रपति पदमा चार जनाको उम्मेदवारी दर्ता भएको छ ।
     
    जसमध्ये गठबन्धनबाट मात्रै उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ ।  गठबन्धनको तर्फबाट एकल उम्मेदवार नभएपछि तीन जनाको उम्मेदवारी परेको हो । 
     
    गठबन्धनमा रहेको जनता समाजवादी पार्टी जसपाबाटै दुई जनाको उम्मेदवारी परेको छ । जसपाबाट नेतृ प्रमीला यादव र नेता राम सहायप्रसाद यादवले उम्मेदवारी दिनुभएको छ । 
     
    उपराष्ट्रपति महिला हुनुपर्ने आवाज उठेकाले उम्मेदवारी खारेज हुनसक्ने अवस्था आउन सक्ने आँकलन गर्दै जसपाबाट दुई जना उम्मेदवार रहेको बताइएको छ । 
     
    गठबन्धनबाट नै जनमत पार्टीकी नेता ममता झाले पनि उपराष्ट्रपति पदका लागि आज उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिनुभएको छ ।
     
    जनता समाजवादी पार्टी, नेपालको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिनुभएकी प्रमीला यादवले जसपाको तर्फबाट दुई जनाको उम्मेदवारी परेको भन्दै आधिकारिक उम्मेदवार को हुने भन्ने भोलि थाहा हुने बताउनु भएको छ । 
     
    उहाँले आफूले जित्नको लागि उम्मेदवारी दिएको दाबी गर्नुभएको छ । पार्टीले गर्ने निर्णयलाई आफूले मान्ने उहाँको भनाई छ । 
     
    यता, उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध नेकपा एमालेले उजुरी दर्ता गरेको छ। 
     
    एमालेले राष्ट्रपतिमा रामचन्द्र पौडेल पुरुष र खस आर्य समुदायबाट भएकाले अब महिला उपराष्ट्रपति हुनुपर्ने भन्दै उजुरी हालेको हो। 
     
    एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आज बिहान मात्रै पार्टीको निर्णय सुनाउँदै पुरुषलाई उपराष्ट्रपतिमा उठाउने कुरा संविधानको मर्म विपरीत भएको बताउनुभएको थियो ।
     
    यता, जनमत पार्टीका अध्यक्ष सिके राउतले उपराष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारी फिर्ता नहुने बताउनु भएको छ । 
     
    आफूहरूले सत्ता गठबन्धनमा पनि सहयोगका लागि अनुरोध गर्ने उहाँले बताउनुभएको छ । सहयोग नपाए मित्रवत् प्रतिस्पर्धा हुने उहाँको भनाई छ । 
     
    निर्वाचन आयोगले आजका लागि उपराष्ट्रपतिको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको थियो ।  बिहान ९ बजेदेखि २ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकिएको थियो ।  भोलि उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । 
     


    शनिवार, फाल्गुण २७ २०७९०८:२०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij