काठमाडौं। नेकपा एमालेले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराउनुभएका जसपाका नेता रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दिने भएको छ। सत्ता गठबन्धनको तर्फवाट यादवल दिनुभएको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै एमालेले उजुरी दिने तयारी गरेको हो।
राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेका सांसद महेश बर्तौला लगायतका नेताहरू नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरीपत्र लिएर पुगेका छन् । साथै यादवको उम्मेदवारी कानुन विपरीत रहेको एमालेको दाबी छ ।
एमालेबाट भने उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ भने जसपाबाटै प्रमिला यादव तथा जनमत पार्टीकी ममता झाले पनि उपराष्ट्रपति पदमा उमेदवारी दिनुभएको छ।
उपराष्ट्रपति निर्वाचनको तयारीका सन्दर्भमा भोली उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।त्यस्तै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।