काठमाडौं।नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ।आज नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर शाक्यले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी शाक्य वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्रीसमेत हुन्। शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
उम्मेदवारी दर्तापछि शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले आफ्नो उम्मेदवारीबारे सोच्न जरुरी रहेको बताउनुभएको छ। ‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी छ। लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ’ उहाँले भन्नुभयो।
सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु पनि संघीय संसद भवन पुगेका थिए । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ।