काठमाडौं। आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदका लागि दलहरुबीच रस्साकस्सी शुरु भएको छ। निर्वाचन आयोगले यसअघिनै उपराष्ट्रपति पदको निर्वाचन मिति चैत ३ गते तोकिसकेको छ । भोलि मनोनयन दर्ता गरिँदैछ। यो पदका लागि पनि सत्तारुढ दलहरुले आफ्नै अड्डी कसेका छन् ।
कतिपय उमेर नपुगेका आंकाक्षी छन् भने कतिपय दलबाट उमेर पुगेका नेताहरुले दाबी गरेका छन्। उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले रामसहाय प्रसाद यादवलाई अघि सारेको छ। जसपाका नेता राजकीशोर यादवले निष्कलंक राजनीतिक पृष्ठभूमि भएका यादवलाई सबै दलको विश्वास मिल्ने दाबी गर्नुभएको छ।
यता, सत्ताको प्रमुख घटक नेपाली कांग्रेसले कुनैपनि दलहरुसँग उपराष्ट्रपति कसलाई बनाउने भन्नेबारे छलफल नभएको बताएको छ । ईच्छा धेरै दल र नेताहरुले देखाएको भएपनि यसको निक्र्यौल आठदलीय गठबन्धनको बैठकले गर्ने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको भनाइ छ। मुलुकलाई सही रुपमा निकास दिन छलफल र बहसकै माध्यमबाट उपराष्ट्रपति चयन गरिनुपर्ने उहाँको जिकीर छ ।
पुस १० गते बनेको सत्ता समीकरण फागुन १३ गतेपछि भत्किँदा प्रमुख प्रतिपक्षी बन्न पुगेको नेकपा एमालेले पनि उपराष्ट्रपतिमा आफ्नो उम्मेदवार खडा गर्ने भएको छ । यसअघि भएका सहमतिहरुमा घात भएको निष्कर्षमा पुगेको एमाले पछिल्लो समय फरक ढंगले उभिएको छ।
कांग्रेस एमाले मिलेर सहमतीय सरकार बनाउनुपर्ने भन्दै अर्को कार्ड फ्याँकिरहेको एमालेले नयाँ चालबाजी गरिरहेको छ। एमाले नेता देवेन्द्र दाहालका अनुसार विगतका नजीर हेर्दा पनि निर्वाचन प्रणालीबाटै राष्ट्रपति, उपराष्ट्रपति चयन गरिएकोले एमाले त्यहीँ बाटोमा जानेछ ।
निर्वाचन आयोगले राष्ट्रपति, उपराष्ट्रपति फरक लिंग वा समुदाय हुनुपर्ने प्रावधान अनुसार जान दलहरुलाई सुझाएको छ । दलहरुका बीच उपराष्ट्रपतिमा चाँडै टुंगो लगाएर खस्किएको अर्थतन्त्रलाई माथि उकास्नुपर्ने चुनौती छ तर सत्ताको भागबण्डा र स्वार्थ समूहका कारण मुलुक झनझन दलदलमा फस्दै गइरहेको छ ।