काठमाडौं । मुलुकले यसपटक चौथो राष्ट्रपति पाउँदैछ । जसका लागि बिहीबार भोलि निर्वाचन हुँदैछ । राष्ट्रपतिको निर्वाचनमा सत्तारुढ नौ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बन्नुभएको छ, भने नेकपा एमालेका तर्फबाट पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रपतिका लागि दुवै जना योग्य र प्रतिभाशाली नै छन् तर ८ सय ८२ जना सांसदको बहुमतले मात्रै निक्र्यौल गर्नेछ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले आवश्यक सबै तयारी पूरा भइसकेको बताउनुभयो ।
बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । संघीय संसद्का ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० सांसद गरी ८ सय ८२ जनाले राष्ट्रपति निर्वाचनमा मत दिनेछन् । संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ । यस आधारमा सबै संघीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेश सांसदको मतभार २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्छ ।
संघीय संसद्का ३ सय ३४ मतदातामध्ये मनाङका कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बनमा छन् । चितवनको निर्वाचन क्षेत्र नम्बर २ रिक्त छ । जनता समाजवादी पार्टीका समानुपातिक सांसद शहनाज रहमानको फागुन १३ मा मृत्यु भएको थियो । सुरक्षाकर्मी हत्याको मुद्दामा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार छन् । निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको छ ।
मतदान बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।संघीय र प्रदेश सांसदका लागि फरक रङको ९ सय ९० मतपत्र छापिएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका लागि छापिएको मतपत्रमा सेतो पृष्ठभूमिमा गुलाबी रङको अक्षर छ। प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्रमा सेतो पृष्ठभूमिमा हरियो रङको अक्षर छ ।
मतपत्रको पहिलो कोठामा सत्ता गठबन्धनका उम्मेदवार पौडेल र दोस्रो कोठामा एमालेका उम्मेदवार नेम्वाङको फोटो छ । मत बदर कम गर्न यसपालि फोटोसमेत राखिएको प्रवक्ता पौडेलको भनाइ छ। मतगणना सकिएलगत्तै मत गन्ने आयोगको तयारी छ । सोही दिन बेलुका ७ बजेसम्म परिणाम आइसक्ने छ।