काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आफ्नै कार्यकालमा निजामती कर्मचारीको व्यवस्थित सरुवा प्रणाली सुरु गर्ने बताउनु भएको छ। मन्त्रालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले व्यवस्थित सरुवा प्रणाली स्थापित गर्ने गृहकार्य भइरहेको बताउनु भएको हो।
२०७५ साल माघदेखि संसद्मा विचाराधीन रहेको निजामती सेवा विधेयक छिट्टै पारित गर्नेगरी काम अघि बढाइएको उहाँको भनाइ छ। उहाँले दुर्गम क्षेत्रमा काम गर्नेको कार्य सम्पादनसम्बन्धी छुट्टै व्यवस्था गरिने र आगामी पिँढीका लागि सुशासन कायम गराउन निजामती सेवा विधेयकमा राम्रा व्यवस्था गरिएको बताउनुभयो।
देशभरका दुई सयभन्दा बढी स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकामा आफू मन्त्री नियुक्त भई आएपछि ९० जनालाई सरुवा गरी पठाएको बताउनुभयो।
कर्मचारीको सरुवाकै विषयमा धेरै ध्यान केन्द्रित गर्दा अरु काम प्राथमिकतामा पर्न नसकेकाले सोचेअनुसार काम गर्न नसकेको बताउनुभयो। मन्त्रालयलाई चुस्त रुपमा अघि बढाउन सबैबाट सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता मन्त्री मोदीको थियो।