काठमाडौं। सत्तारुढ आठ दलको बैठकले भोलि (बुधबार) बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौँ आइसक्न निर्देशन दिएको छ। आज सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई भोली बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएको हो ।
बैठकले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुलाई भोलिसम्म काठमाडौँ आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो। यस्तै बैठकले शतप्रतिशत भोट खस्ने गरी ८ दलले पहल गर्ने पनि निर्णय गरेको छ ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ। राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मंगलबारदेखि निर्वाचन आचारसंहिता समेत लागु गरेको छ। राष्ट्रपतिका लागी नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग प्रतिस्पर्धामा हुनुहुन्छ ।