काठमाडौं । माओवादी धारका नेताहरूको संयुक्त बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ः३० बजे बस्न लागेको हो ।
प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत सहभागी हुने बताइएको छ ।
यसअघि शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको एक कार्यक्रममा सहभागी माओवादी धारका नेताहरूले माओवादीलाई हेप्न थालिएकाले एकजुट भएर प्रतिकार गर्नुपर्ने धारणा राखेका थिए । प्रचण्डले सबै माओवादीहरू एक ठाउँमा केन्द्रित हुने समय आएको बताउने गर्नुभएको छ । विगतमा विभाजित भएर गरेका अनुभवहरूलाई समेटेर एकताबद्ध हुनु आवश्यक रहेकोमा उहाँको जोड छ । माओवादी धारका नेताहरूबीच सकेसम्म पार्टी एकता र त्यो तत्काल सम्भव नभए कार्यगत एकता गर्ने पहल गर्दै आएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आह्वान गरेको आजको बैठकमा पनि त्यसैबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।