Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

दूरसञ्चार सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता : सञ्चारमन्त्री शर्मा

दूरसञ्चार सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता : सञ्चारमन्त्री शर्मा

  • शनिवार, फाल्गुण २० २०७९

  • 335
    SHARES

  • दूरसञ्चार सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता : सञ्चारमन्त्री शर्मा
    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो, सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको रजत जयन्तीको अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले दूरसञ्चार सेवा सञ्चालन तथा प्रयोगका सम्बन्धमा नीतिगत, कानुनी तथा संरचनागत रुपमा आवश्यक सुधार गरी दूरसञ्चार सेवाको विकास र विस्तार गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

    दूरसञ्चार क्षेत्र भित्रका विकृति र विसंगतिहरूलाई हटाएर दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ । ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको उपलब्धताबारे विस्तृत अध्ययन अनुसन्धान गरी विकट तथा दुर्गम क्षेत्रमा विद्यमान डिजिटल डिभाइटलाई सम्बोधन गर्नुपर्नेमा उहाँको जोड छ ।

    उहाँले प्राधिकरणबाट ग्रामीण दूरसञ्चार विकासको परिचालन गरी सञ्चालित आयोजनाहरूको नतिजा भौतिक प्रगति तथा दिगोपनका सम्बन्धमा समीक्षा गरी ठोस कार्य योजना बनाइ अघि बढ्न अब ढिलो गर्नु नहुने पनि उल्लेख गर्नुभयो ।

    मन्त्री शर्माले सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रका नवीनतम प्रविधिहरूको अध्ययन, अनुसन्धान गरी नीतिगत र कानुनी प्रबन्ध गरेर त्यसको लाभ ग्राहक वर्गले लिने त्यसको माध्यमबाट आर्थिक सामाजिक रूपान्तरणको गतिलाई अघि बढाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

    अहिले धेरै क्षेत्रमा पुराना नीति, कानुनी समस्याको रुपमा रहेकाले समायानुकुल अघि बढ्न दूरसञ्चार लगायत समग्र सूचना प्रविधिको क्षेत्रमा कानुन परिमार्जन तथा नीति निर्माण गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको मन्त्री शर्माको भनाइ छ ।

    मन्त्री शर्माले साइबर सुरक्षा, गोपनीयता सुरक्षा र तथ्यांक सुरक्षा कायम गर्न आवश्यक नीतिगत र कानुनी कार्य सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । दूरसञ्चार पूर्वाधारमा भइहरेको अनावश्यक दोहोरो लगानीलाई न्यून गरी दूरसञ्चार सेवा सस्तो बनाउन दूरसञ्चार पूर्वाधार छिटो, छरितो रुपमा बिस्तार गरी सेवा सर्वसुलभ बनाउन र वातावरण संरक्षणका लागि दूरसञ्चारका पूर्वाधार निर्माण तथा प्रयोगलाई व्यवस्थित गर्न दूरसञ्चार पूर्वाधारको सहप्रयोगको नीति अघि बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    उहाँले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भइरहेको विकाससँगै भूकम्प, बाढी पहिरो, आगलागी जस्ता प्रकोप र विपद्को समयमा पनि दूरसञ्चार सेवालाई निरन्तर सुचारु गरी सबै संरचना एवं पूर्वाधारलाई प्रकोप उत्थानशील हुने गरी प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

    काठमाडौं उपत्यका लगायत मुख्य शहरका विभिन्न बजार, गल्ली, सडकपेटी, लगायतका स्थानमा अव्यवस्थित रुपमा छरिएका तार र बेवललाई सरोकारवालाहरूको भूमिकासहित निश्चित मापदण्ड बनाएर भूमिगत केवल प्रणालीको विकास गर्ने कार्ययोजना बनाउन जरुरी रहेकोसमेत उनले औँल्याउनुभयो ।

    नेपाललाई पूर्ण रुपमा सूचना, प्रविधिमैत्री समाज निर्माण गरी विश्वमा सूचना तथा दूरसञ्चार क्षेत्रमा नेपालको बलियो उपस्थिति बनाउन र सूचना तथा प्रविधिमार्फत नेपाली जनताको गुणस्तरीय जीवनयापनमा महत्त्वपूर्ण टेवा पुर्‍याउन, डिजिटल नेपालको अवधारणालाई मूर्त रूप दिन र समग्रमा आर्थिक, सामाजिक, रूपान्तरणमार्फत समुन्नत नेपाल, खुसी नेपालीको नारालाई व्यवहारतः प्राप्ति गर्न सरोकारवालासँग आवश्यक समन्वय गरी अघि बढ्न निर्देशन दिनुभयो ।


    शनिवार, फाल्गुण २० २०७९०२:५१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij