काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचन अगावै विश्वासको मत लिनेगरी तयारी थाल्नुभएको छ। एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिनुपर्ने बाध्यता छ। यद्यपि रास्वपाले आफ्नो समर्थन कायमै राखेको छ ।
हाल १६ मन्त्रालय आफूसँग राखेका प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा समस्या नआओस् भन्नका लागि भागबण्डालाई पछि सार्नुभएको छ। यद्यपि, अहिलेनै मन्त्रालयको भागबण्डामा सरकार समर्थित दलहरुले रस्साकस्सी शुरु गरिसकेका छन्। यता, माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले ठूलो दललाई राष्ट्रपति दिएर अगाडि बढे मुलुकको राजनीतिलाई स्थिर राख्न सकिने भएकोले कांग्रेससँग पुनः तालमेल गरिएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डलाई चुनावअघिकै गठबन्धनमा फर्काउन सफल भएपछि नेपाली कांग्रेसले सरकारमा जाने गृहकार्य अघि बढाएको छ । कांग्रेसमा पनि सरकारमा जाने छलफल भएपछि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबाहेक अधिकांश हेभिवेट नेताहरु नै सरकारमा जान आतुर देखिएका छन्। आठ दलीय गठबन्धनमा कांग्रेसले बढीमा ९ मन्त्रालय पाउने देखिएको छ। महामन्त्री थापा भने हालको गठबन्धनलाई जसरी पनि बलियो बनाएर लैजाने पक्षमा लाग्नुभएको छ ।
पुस २६ गते प्रधानमन्त्रीलाई रणनीतिक रुपमा विश्वासको मत दिएर ढोक्सा थापेपछि पनि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का निरन्तर प्रचण्डसँग संवादमै रहनुभएको थियो । खड्का महत्वपूर्ण मन्त्रालय लिएर कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेर जाने पक्षमा छन् । यद्यपि उहाँको मन्त्रालय कुन हुने भन्ने टुंगो छैन र खड्काले समेत बोलिसकेका छैनन् ।
१० सिट जितेको नेकपा एकीकृत समाजवादीले गृह मन्त्रालयमा दाबी गर्ने भएको छ । एमालेले यसअघि सम्हालेको अर्थ मन्त्रालय कांग्रेसले पाउँदा गृहमन्त्रालय प्रधानमन्त्रीको दलले नै राख्ने प्रयास भइरहेको बेला नेकपा एसले पनि गृहमा दाबी गर्ने भएको हो ।गठबन्धनमा आकारको हिसाबले ८८ सीटको कांग्रेसपछि ३२ सीटको माओवादी दोस्रो छ । तेस्रो जसपाको १२ र चौथो नेकपा एसको १० सीट छ भने जनमतको ६ सीट छ । लोसपा र नागरिक उन्मुक्ति चार चार सीटसहित छन् भने राष्ट्रिय जनमोर्चाको एक सीट छ ।
यसअघि एमालेको समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डलाई पुस २६ गते विश्वासको मत दिएर कांग्रेसले ब्याक बोनको भूमिका निभाएको थियो । अब भने प्रचण्डलाई त्यो सुविधा छैन । कांग्रेसको राष्ट्रपति बनिसके पश्चात सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने आकांक्षा जागेपछि सहजै रुपमा सहमति जुट्ने देखिन्छ ।