काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएपछि त्यसको असर गण्डकी प्रदेशमा पनि देखिएको छ । समानुपातिक प्रणालीबाट दुई सिट जितेर राप्रपा पहिलो पटक गण्डकी प्रदेशसभा प्रवेश गरेको थियो ।
त्यसपछि राप्रपाबाट गण्डकी सरकारमा नेतृत्व गर्नुभएका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले यतिबेला पार्टीको निर्देशन पालना गर्नुपर्ने भन्दै राजीनामा दिने तयारी गर्नुभएको छ ।
मुख्यमन्त्री खगराज अधिकारीले भने राप्रपा सरकारबाट बाहिरिए पनि समर्थन भने गर्नसक्ने आशमा हुनुहुन्छ। एमाले संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री अधिकारीलाई माओवादी केन्द्र र राप्रपाको साथ थियो।
६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउनको लागि ३१ सांसदको आवश्यक पर्छ। एमालेका २२, माओवादी केन्द्रका ८ र राप्रपाका २ सांसद गरी ३२ सांसदको समर्थनमा एमाले नेतृत्वमा सरकार बनेको थियो ।
स्वतन्त्र सांसदसहित संसदमा सहभागी ४ दलमध्ये सवैभन्दा ठूलो दलको रुपमा कांग्रेसको २७ सिट रहेको छ। नयाँ सत्ता समीकरण अनुसार कांग्रेस र माओवादी मिलेर सरकार बन्नेछ ।
दुई दल मिल्दा ३५ सांसद पुग्छन्। गण्डकीमा मुख्यमन्त्रीसहित एमालेले चार वटा मन्त्रालयको नेतृत्व गरेको थियो भने, माओवादीले दुई र राप्रपाले एउटा मन्त्रालयको नेतृत्व लिएका थिए ।