काठमाडौं। नेकपा एमालेले राष्ट्रपतिको निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ। आज बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री प्रचण्डले गलत निर्णय गरेको निष्कर्ष निकालेको छ।
हिजो साँझ मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा माओवादी केन्द्रसहित ८ दलले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो ।यस्तै प्रचण्ड अस्थिर बनेको,बाहृय दबाब थेग्न नसकेको र प्रगतिशील गठबन्धनलाई छाडेर दक्षिणपन्थी गठबन्धनतिर लागेको एमालेको निष्कर्ष छ ।
एमालेले १० पुसमा बनेको सहमतिअनुसार नै अघि बढ्ने भन्दै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । यस्तै एमालेले आफ्नो उम्मेदवार नेम्वाङका लागि राष्ट्रपतिमा आफ्नै उम्मेदवार उठाएको नेपाली कांग्रेस बाहेक सबै दलको समर्थन खोज्ने पनि बताएको छ ।
१० पुसमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो । त्यो बेला राष्ट्रपति एमालेले लिने सहमति पनि भएको थियो ।तर माओवादीसँगै जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी शुक्रबार बसेको ८ दलको गठबन्धनमा छन् । र, कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेका छन् ।