Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पत्रकार नरहरि न्यौपानेलाई लोक पत्रकारिता सम्मान

पत्रकार नरहरि न्यौपानेलाई लोक पत्रकारिता सम्मान

  • शनिवार, फाल्गुण १३ २०७९

  • 1.0K
    SHARES

  • पत्रकार नरहरि न्यौपानेलाई लोक पत्रकारिता सम्मान

    काठमाडौं । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानले पत्रकार नरहरि न्यौपानेलाई सम्मान गरेको छ । रेडियो नेपालमा झण्डै २५ वर्षदेखि कार्यरत न्यौपानेलाई प्रतिष्ठानको आठौँ महाधिवेशनका अवसरमा लोक पत्रकारिता सम्मान प्रदान गरिएको हो ।

    रेडियो नेपालका गाउँबेँसी, लोकलहरी, रोधी जस्ता लोकप्रिय कार्यक्रम मार्फत उहाँले लोक दोहोरीको वृद्धि विकासमा अतुलनीय योगदान दिएकोले उहाँलाई सम्मान गरिएको प्रतिष्ठानका केन्द्रीय सदस्य अमृत अधिकारीले जानकारी दिनुभयो ।

    पत्रकार न्यौपानेले लोकसङ्गीतले नै देशलाई चिनाउने, धरातल बुझाउने र जीवन पद्धति झल्काउने भएकाले आफूले सधैँ लोकगीतको सेवा गरिरहेको बताउनु भयो । आफ्नै रुचि र जिम्मेवारीबोधका कारणले लोक सङ्गीतको निरन्तर सेवा गरेको र त्यो देखेर प्रतिष्ठानले सम्मान गर्दा आफूलाई थप उत्साह थपिएको उहाँको भनाई छ ।

    धादिङबेसीमा भएको प्रतिष्ठानको महाधिवेशन उद्घाटन समारोहमा लोक स्रष्टा सम्मान भने बरिष्ठ लोक गायक तथा स्रष्टा पुरुषोत्तम न्यौपानेलाई प्रदान गरिएको छ । उहाँ पनि रेडियो नेपालको पोखरा क्षेत्रीय प्रसारणमा कार्यरत हुनुहुन्छ । उहाँका दर्जनौँ गीत चर्चित छन भने उहाँ प्रतिष्ठानका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

    त्यसैगरी स्व। लोकबहादुर क्षेत्री स्मृति सम्मान बरिष्ठ गायिका चन्द्रकला शाहलाई प्रदान गरिएको छ । उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले अन्य स्रष्टा तथा सहयोगदातालाई पनि सम्मान गर्नु भएको थियो ।

    शुक्रबारदेखि सुरु भएको प्रतिष्ठानको महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । प्रतिष्ठानको अध्यक्षका लागि अहिलेसम्म रिता थापा मगरको चर्चा बढी छ । अन्य पदहरूमा चर्चित लोक कलाकारहरूले प्रतिष्पर्धा गर्न लागेका छन् । दाइको ससुराली गाउँ लगायतका चर्चित गीतका गायक तथा स्रष्टा अमृत अधिकारीले सचिवमा उम्मेदवारी दिने तयारी गर्नु भएको छ । उहाँले अग्रज तथा सहयात्रीहरूसँग सल्लाह गरेर आफूले उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो ।


    शनिवार, फाल्गुण १३ २०७९०७:४४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij