काठमाडौं।जनता समाजवादी पार्टी नेपाल (जसपा)ले उपराष्ट्रपति पदमा दाबी कायमै राख्ने भएको छ। पावर सेयरिङमा उपराष्ट्रपति पद आफ्नो पार्टीले पाउनुपर्ने अडान कायम रहेको जसपाले जनाएको छ। त्यसका लागि अध्यक्ष उपेन्द्र यादवले दुवै पक्षसँग कुराकानी रहनुभएको छ।
यादवले एमालेका अध्यक्ष केपी शर्मा ओलीका साथसाथै कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसँग पनि समानान्तर छलफल गरिरहनु भएको छ ।
उहाँले ती भेटहरूमा राष्ट्रपति र उपराष्ट्रपति फरक समुदायबाट हुनुपर्छ भन्दै उपराष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने बताउँदै आउनुभएको छ। जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एउटा जसपाले पाउनुपर्ने आफूहरूको अडान रहेको बताउनुभयो ।
राष्ट्रपति नपाउने निश्चित जस्तै रहेकाले आफ्नो पार्टीले उपराष्ट्रपतिका लागि सबै दलहरूसँग संवाद गरिरहेको उहाँको भनाइ छ। फेरिने दिशामा रहेको सत्ता समीकरणमा जसपाको भूमिका कस्तो हुन्छ भन्ने जिज्ञासामा उहाँले अहिले आफ्नो पार्टी पर्ख र हेरको नीतिमा रहेको बताउनुभयो।
राष्ट्रपतिको चुनावसम्म हेर्ने र त्यसपछि दलहरूबाट आउने जवाफका आधारमा अघि बढिने उहाँको भनाइ छ ।प्रधानमन्त्री प्रचण्डले जसपालाइ युवा तथा खेलकुद र वन मन्त्रालयमा गरेको प्रस्तावमा यादवले उपराष्ट्रपतिसहित थप मन्त्रालय चाहिने जवाफ दिनुभएको थियो। जुन अडान अझै कायम रहेको जसपाले जनाएको छ ।