काठमाडौँ। जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन सहयोग गर्ने बचन दिनुभएकोे छ ।
अध्यक्ष ठाकुरलाई राष्ट्रपति बनाउन दौडधुप गरिरहेका लोसपाका नेताहरुसँग यादवले ठाकुरलाई राष्ट्रपति बनाउने सबैको सहमति भए आफूले पनि सहयोग गर्ने आश्वासन दिनुभएको हो । यसका लागी राष्ट्रपतिमा सहयोग माग्नका लागि लोसपाका शिर्ष नेताहरु नै जसपा अध्यक्ष यादवसँग छलफल गर्ने भएका छन् ।
यादवसँग यसअघि पनि केही नेताहरूले प्रारम्भिक छलफल गरिसकेको र आज या भोलिमा शीर्ष तहमै औपचारिक छलफल गर्ने तयारी भइरहेको लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिनुभयो ।
आँफुलाई भेट्न गएका लोसपा नेताहरूसँग यादवले भन्नुभयो, ‘मैले एक्लैले समर्थन गरेर मात्र अध्यक्ष ठाकुर राष्ट्रपति बन्ने होइन। मैले त महन्थजीलाई प्रधानमन्त्री नै बनाउन खोजेको थिएँ । तर उहाँ अर्कैतिर लाग्नुभयो अहिले पनि उहाँलाई राष्ट्रपति बनाउने सहमति बन्यो भने मेरो सहयोग रहन्छ ।’
लोसपाले राष्ट्रपतिको उम्मेदवारको रूपमा अध्यक्ष महन्थ ठाकुरलाई अघि सारेको छ। त्यसका लागि लोसपाका अध्यक्ष ठाकुरलगायतका शीर्ष नेताहरू काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा अोली, नेकपा एकीकृत समाजवादीसँग भेटिसकेका छन् ।