काठमाडौं । लोकतान्त्रीक समाजवादी पार्टी लोसपाले पार्टी अध्यक्ष महन्थ ठाकुर राष्ट्रपतिको उमेद्वार बन्दै गर्दा सिंगो देशको न्याय हुने बताएको छ । अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा राष्ट्रिय सहमतिको साझा उम्मेदवार बनाउने कुरामा सम्पुर्ण मधेशवादीको साथ र समर्थन रहेको भन्दै अन्य दलहरुले पनि सहयोग गर्नुपर्ने लोसपाको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै लोसपाका नेता अनिल झाले हिजो प्रधानमन्त्री प्रचण्डसँग र एमाले अध्यक्ष केपि शर्मा ओलीसँग भएको भेटमा महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उमेद्वार बनाउने कुरामा सकारात्मक कुरा आएको बताउनुभयो।
उहाँले पार्टीबाट ठाकुरलाई राष्ट्रपतिमा राष्ट्रिय सहमतिको साझा उम्मेदवार बनाउने निर्णय भएको र प्रधानमन्त्रीले पनि राष्ट्रिय सहमतिमै जोड दिएकाले महन्थ ठाकुर जत्तिको उचित पात्र अन्य उमेदवार हुन नसक्ने दावी गर्नुभयो ।
उहाँले महन्थ ठाकुर देशको अविभावकिय भुमिका निर्वाह गर्न सक्ने उपयुक्त पात्र भएको दावी गर्दै काँग्रेस एमाले र माआवादीले पनि यसतर्फ गम्भीर भएर सोच्नुपर्ने बताउनु भयो ।
हिजो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई भेटेर अध्यक्ष ठाकुरलाई राष्ट्रपति बनाउन आग्रह गरेको लोेसपा आज कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्ने भएको छ । देउवालाई भेट्न लोसपाको टोली बिहान ९ बने देउवा निवास जाने छ ।