काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले दलभन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताउनुभएको छ । सिन्धुलीमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।
सम्भावित राष्ट्रपतिको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा आइरहेको बेला कोइरालाले राष्ट्रपतिको उम्मेदवार गैरदलीय व्यक्ति हुनुपर्ने बताउनुभएको हो ।
राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताउँदै उहाँले त्यस्तो सम्भावना कांग्रेसको उम्मेदवारमा मात्रै सम्भव हुने बताउनुभयो ।
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । उम्मेदवारी दर्ताको दिन नजिकिइरहेको बेला दलहरु उम्मेदवार चयनको रस्साकस्सीमा लागेका छन् ।