काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँच वर्ष नै चल्ने बताउनुभएको छ। आज धनगढीमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा प्रदेश सरकार पाँच वर्ष टिक्नुपर्ने विषयमा सबै दलसँंग खुला छलफल भएको बताउदै उहाँले वर्तमान सरकारसँग पूर्ण बहुमत नभए पनि मध्यावधि निर्वाचन नहुने र सरकार पनि पाँच वर्ष नै चल्ने दाबी गर्नुभएको हो ।
मुख्यमन्त्री शाहले आफ्नो नेतृत्वको सरकार नयाँ जोस र जाँगरका साथ केही गर्नु पर्छ भन्ने मान्यताका साथ सरकारमा आएको उल्लेख गर्दै जति दिन जिम्मेवारी काँधमा रहन्छ त्यति समय इमानदारीपूर्वक काम गर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले लगानीको अवसर सिर्जना नभएसम्म दैनिक रुपमा वैदेशिक रोजगारीका लागि भारततर्फ जाने क्रम रोक्न नसकिने भएकोले प्रदेशमै उद्योग व्यवसाय, पर्यटनलगायतका क्षेत्रमा लगानी जुटाउने वातावरण तयार गर्नेतर्फ सरकार गम्भीर रहेको बताए। उहाँलेले प्रदेश सरकार र सञ्चारकर्मीहरुबीच निरन्तर संवाद हुन आवश्यक भएको पनि बताउनुभयो ।