काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले कार्यकारिणी समितिको बैठक बोलाएको छ।फागुन १० गते बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने गरी कार्यकारिणी समितिको बैठक बोलाएको लोसपाले जनाएको छ ।
बैठकमा केन्द्रीय समिति गठन, राष्ट्रपति चुनावलगायतका विषयमा छलफल हुने छ। अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा अघि सार्ने विषयमा ठोस छलफल हुने छ। अध्यक्ष ठाकुरका बारेमा अन्य दलका नेताहरु बीचमा पनि अनौपचारिक छलफल भैरहेको छ ।
दलहरुका बीचमा सहमति भएमा ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सकिने लोसपाले जनाएको छ।यस्तै लोसपा गठन भएको डेढ वर्षभन्दा बढी भइसक्दा पनि हालसम्म केन्द्रीय समिति गठन भएको छैन ।
अहिले केन्द्रीय समिति निर्माण गर्ने गृहकार्य सुरु भएको छ। त्यसलाई कार्यकारिणी समितिको बैठकबाट टुग्यांउने लोसपाले जनाएको छ। पार्टीमा केन्द्रीय समितिका लागि आएका नामको बारेमा पनि टुंगो लगाउने तयारी छ ।