काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाउनुभएको छ।आज डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्कीले सरकारमा बस्नै सबै व्यापारीहरु रहेको उल्लेख गर्दै सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘अहिले त के भयो भयो, शिक्षा व्यापार, स्वास्थ्य व्यापार, हरेक कुरामा व्यापार छ। स्कलरशीप कसले पाउँछ, सरकारले दिने सहुलियत कसले पाउँछ त्यो पनि थाहा छैन । शिक्षा व्यापार भएको छ‘ ।
शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरुले छोराछोरीहरुलाई अध्ययन गराउन नसकेको दाबी गर्दै कार्कीले सरकारले दिइरहेको छात्रवृतिमा सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले आर्यघाटमा पुर्याइएको शवमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको बताउनुभयो ।
शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने भन्दै नागरिकलाई गास, वास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको रराजनीतिक दलहरु एउटा कुर्सीको लागी भिडिरहेको आरोप लगाउनुभयो ।