काठमाडौं। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपति निर्वाचनमा प्रमुख विपक्षी दल कांग्रेसलाई पनि विश्वासमा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
आज सुर्खेतमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले अहिले देशमा राष्ट्रिय सहमतिको आवश्यकता रहेकाले प्रमुख विपक्षीलाई समेत सम्बोधन गर्नुपर्ने उल्लेख गर्नुभएको हो।
राष्ट्रपतिको उम्मेदवारको विषयलाई लिएर सत्ता गठबन्धनका एमाले र माओवादी केन्द्रबीच अविश्वास बढिरहेका बेला उहाँले कांग्रेसलाई समेत जोड्नुपर्ने बताउनुभएको हो।
सरकारलाई प्राप्त राष्ट्रिय सहमतिको अवस्थालाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै उहाँले कसैले भत्काउन चाहेर मात्रै गठबन्धन नभत्किने तर सत्तारुढ दलका आपसी व्यवहारमा पनि त्यो भरपर्ने उल्लेख गर्नुभयो ।
सत्तागठबन्धनबीच सुदृण सम्बन्ध हुनका लागि प्रतिगमनलाई कुनै पनि हालतमा अघि बढ्न नदिने राष्ट्रियताको रक्षा, सुरक्षा र बाँकी सुशासनका काममा सबैको उत्तिकै प्रतिबद्धता हुनुपर्ने बताउनुभयो । यता, आज बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दुई घण्टा कुरा भएको थियो ।