काठमाडौं । नेपाल असंलग्न परराष्ट्रनीति बोकेको सार्वभौमसत्ता सम्पन्न मुलुक हो। भौगोलिक हिसाबले क्षेत्रफल कम भएपनि यहाँको स्वतन्त्रता परापूर्व कालदेखि कायम रही आएको छ। यो मुलुकमा हिजो जुनसुकै व्यवस्था भएपनि देशको गरिमा सधैँ प्राथमिकतामा रहेको थियो। कुनैपनि मुलुकले नेपालमाथि गिद्धेनजर लगाउन सक्दैनथे। दुई ठूला महाशक्ति राष्ट्र चीन र भारतको बीचमा रहेको नेपाल आफैमा सुन्दर,शान्त र विशाल छ। पछिल्लो समय यो भूमिमा विभिन्न देशहरुले आफ्नो सक्रियता बढाउँदा यहाँका नागरिकहरु सशंकीत भएका छन् ।
राजनीतिक दलहरुको भूमिकालाई लिएर संसदमा नै प्रश्न उठ्न थालेको छ। आजको संसद बैठकमा बोल्दै सांसद चित्रबहादुर केसीले भारतको कर्मचारी आउँदा यहाँका नेताहरु लम्पसार परेको प्रति चिन्ता व्यक्त गर्नुभयो। भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउँदा यहाँको शीर्ष नेतृत्वले क्रमशः भेट गरेको छ।
अध्यक्ष केसीले नेपालको राष्ट्रपति चुनावलाई लक्षित गरी विदेशीहरुको भ्रमण भइरहेको पनि दाबी गर्नुभएको छ । यस्ता विषयमा पहिले शक्ति राष्ट्रहरुको हस्तक्षेप अप्रत्यक्ष रुपले हुने भएपनि अहिले त प्रत्यक्ष नै देखिएको उहाँको जिकीर छ ।
नेपालले आफ्नो गरिमालाई सधैँ कायम राख्न सक्नुपर्ने आवाज उठ्न थालेको छ। भारत,चीन लगायतका देशमा नेपालका उच्चपदस्थ प्रतिनिधि जाँदापनि त्यहाँका शासकहरुले भेट गर्न आलटाल गर्ने गरेका दृष्टान्त धेरै छन् तर यहाँका शासकहरुले उनीहरुलाई सहजै भेट दिने र आन्तरिक कुराहरु आदानप्रदान गरेको विषय बाहिरिन थालेको छ । पद र संस्थालाई जोगाउन नसक्दा राजनीतिक नेतृत्व नै विवादमा आउने गरेको छ ।
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले अहिलेको सरकार भारत परस्त हुनु स्वभाविक रहेको दाबी गर्नुभएको छ। वीर पूर्खाहरुले जोगाएको विरासतलाई कुनै दल, नेताहरुले गुलाम बनेर अस्तित्व मेटाउन मिल्दैन । आफ्नो मुलुकलाई कुन दिशामा अगाडि बढाउने भन्ने विषयमा सबैको एकीकृत धारणा र अडान हुन जरुरी छ ।