काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने भएको छ। सरकारी वकिल कार्यालयले आज यस्तो निष्कर्ष निकालेको हो ।
लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै युवराज पौडेल(सफल)ले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिनुभएको थियो। तर प्रहरीले लामिछानेको नागरिकता मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतबाट आइनसकेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो ।
त्यसपछि सफलले प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिनुभएको थियो। सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा छानबिन चलिरहेको सूचना आएको भन्दै जाहेरीमा केही गर्नुनपर्ने भन्दै थन्क्याउने निर्णय गरेको जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेले जानकारी दिनुभयो ।
सरकारी वकिल कार्यालयले यसअघि लामिछानेको राहदानीको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी विभाग र अध्यागमन विभागबाट विवरण माग गरेको थियो । जिल्ला प्रशासन कार्यालय बाहेक अरु निकायबाट जवाफ नआएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले भने रविले नागरिकताको अभिलेख भेटिएको जवाफ लेखेको उल्लेख छ ।रविको राहदानीको विषयमा केही महिनाअघि गृह मन्त्रालयमा परेको उजुरी जिल्ला प्रशासन कार्यालय हुदै जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको थियो ।
जिल्ला प्रहरी परिसरले यसमाथि छानबिनको क्रममा अध्यागमन विभाग, राहदानी विभाग लगायतका निकायबाट विवरण मगाएको भेटिएको पनि सरकारी वकिल कार्यालयले जनाएको छ । अब प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पेश गरेपछि मात्रै सरकारी वकिल कार्यालयले त्यसको अध्ययन गरी थप निर्णय लिनेछ ।