काठमाडौं। नेपाली कांग्रेसले बालाजुमा भएको तोडफोड र लुटपाट घटनाप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै कांग्रेसका प्रवक्ता समेत रहेका सांसद प्रकाशशरण महतले घटनाको यथार्थ छानविन गरी तत्काल परिणाम आउने गरी काम गर्न समाभुखमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
शान्ति सुरक्षाको प्रत्याभूति सरकारले दिन नसकेको भन्दै नेता महतले आक्रोश व्यक्त गर्नुभएको हो। उहाँले यातायात मजदुरका माग सम्बोधन गर्न पनि सरकारसँग माग गर्नुभयो ।
काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति दिन सक्दैन भने दूरदराजमा बस्ने नागरिकको हालत के होला? त्यसतर्फ सरकार गम्भीर भएर दोषीहरूलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
फागुन १ गते दिउँसो यातायात मजदुरको विरोध प्रदर्शनका क्रममा बालाजुमा ल्होसे मलका पसलमा लुटपाट भएको थियो। शान्ति सुरक्षामा खटिएको प्रहरीको दुईवटा भ्यानमा समेत आगजनी भएको थियो।