काठमाडौं। काठमाडौं मुलुकको संघीय राजधानी । यहाँ देशभित्रका मात्रै होइनन्, विभिन्न देशका नागरिकहरु बसोबास गर्दछन् । काठमाडौको मानव र सवारी चापलाई हेर्ने हो भने थेगिनसक्नु छ । त्यसैमाथि सडकमा गरिने सवारी पार्किङले दुर्घटनाको भयका हुनुका साथै राजधानीको कुरुपपनलाई झल्काएको छ । काठमाडौं महानगरपालिकाले अण्डर पार्किङ खोल्न सुरुवात गरेपनि धेरै ठाउँमा अझै लागू भइसकेको छैन । महानगरले भत्काएको छ तर निर्माणका लागि कडिकडाउ गर्नसकेको छैन ।
काठमाडौंमा हुने सवारी चापअनुसार धेरै स्थानमा पार्किङस्थल आवश्यक भएपनि त्यो सम्भव देखिदैन । राजधानीभित्रको ट्राफिक व्यवस्थापन गर्न प्रहरी लागेपनि उसले नियम उल्लंघनको चिठ काट्न बाहेक केही गर्न सक्दैन । रातदिन सडकमा हुने ट्राफिकले सवारीचालकलाई चेतावनी दिएपनि यो समस्या थप बल्झिँदै गएको छ । यसअघि ट्राफिक नियम उल्लंघन गरेवापत् प्रकृति हेरेर प्रहरीले पाँचसयबाट जरिवाना शुल्क लिने गरेकोमा पहिलो गल्तीमै एक हजार पाँचसय सम्म लिन थालेको छ ।
यहीँ विरोधमा यातायात व्यवसायी र मजदूरहरुले आन्दोलन थालेका थिए । सो आन्दोलनले उग्ररुप लिँदा बालाजु क्षेत्र रणभूमि बनेको थियो । आज बिहानै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले व्यवसायी, मजदूरलाई बोलाएर आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गर्नुभएको थियो । यातायात व्यवसायीहरुमाथि हमला गर्नेहरुलाई कारबाही गर्ने उहाँको प्रतिवद्धता थियो ।
उपत्यका ट्राफिक कार्यालयका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार पहिलो पटक जरिवानामा परे ५ सय, दोस्रो पटक एक हजार र तेस्रो पटकमा १ हजार ५ सय रुपैयाँ लिने निर्णय भएको थियो । त्यसरी पाँच पटकसम्म नियम उल्लंघन गरेर कारबाहीमा परे लाइसेन्स नै खारेज गर्ने प्रावधानप्रति पनि यातायात व्यवसायीको विरोध थियो । २ सय बढी मजदुरको लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीले यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरिसकेकाले त्यसलाई रोक्ने व्यवसायीको इच्छा थियो ।
आइतबार मन्त्रालयमा भएको छलफल र सहमतिपछि निस्किएका मजदुरहरुले सोमबार गोंगबु बसपार्कमा कोणसभा गरेर बैठकका निर्णय र भावी आन्दोलनका तयारी सुनाउने कार्यक्रम राखेका थिए । पहिले व्यवसायीले बसपार्कमै कार्यक्रम गर्न खोजेका थिए । यातायात अवरुद्ध हुने भन्दै बाहिर कार्यक्रम गर्न सुझाइएको थियो । तर, उनीहरुले ल्होत्से हलमा पनि कार्यक्रम गर्न पाएनन् । त्यसपछि आन्दोलनले उग्ररुप लिएको थियो । आज मन्त्री श्रेष्ठसँग भेट गर्दै उनीहरुले सोमबारको घटना प्रादुर्भाव गर्नेमाथि कारबाही गर्न माग गरेका छन् ।
निजी होस् वा सरकारी सबै क्षेत्रमा हुने सिण्डिकेटलाई हटाएर सभ्य, समृद्ध मुलुक निर्माण गर्नु आजको आवश्यकता हो । सवारी व्यवस्थापनका लागि ट्राफिकलाई सडकमा धुलो खुवाउनुको सट्टा नयाँ प्रविधि वा योजना अघि बढाउने की ?