काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। ‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार! गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराको साथ आजबाट सुरु भएको महाधिवेशन ४ गतेसम्म चल्नेछ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी छ।महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू, विभिन्न विद्यार्थी संगठनमा नेताहरू लगायतको उपस्थिति छ। महाधिवेशनको उद्घाटन सत्र अघि उपत्यकाका विभिन्न स्थानबाट र्याली निस्किएको थियो।
तीन दिनसम्म चल्ने महाधिवेशनबाट १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ। त्यस्तै तीन वटा आयोगहरू(लेखा,अनुशासन र निर्वाचन) समेत चयन गर्नेछ। देशभरबाट १५७३ जना प्रतिनिधि सहभागी रहेको महाधिवेशनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने प्रयत्न गरिने नेताहरूले बताएका छन् ।
पार्टी अध्यक्ष ओलीले पनि सहमतिको आधारमा नेतृत्व चयन गर्न नसकेको खण्डमा गुटबन्दी हुने र आसन्न स्ववियु निर्वाचनमा समेत असर पर्ने भन्दै समेत सहमतिको आधारमा नेतृत्व चयन गर्न आग्रह गरिसक्नुभएको छ।
अनेरास्ववियुले यसअघि गत असोज १ र २ गते काठमाडौंमे विधान महाधिवेशन गरेको थियो ।जसबाट नीति, एजेन्डा, कार्यक्रम र सांगठनिक संरचनासहितको आन्तरिक विधान तय गरेको थियो। अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालबीच प्रतिस्पर्धा हुने भएको छ ।