काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको बताउनुभएको छ ।
आज प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना नदेखिएको बताउनुभएको हो ।
राष्ट्रपतिको निर्वाचनको हकमा भने सबै राजनीतिक दलले सुझबुझपूर्ण तरिकाले निर्णय लिनुपर्ने उहाँको भनाइ छ ।उहाँले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परे आफ्नो पार्टीले पनि उम्मेदवारी दिने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण एजेन्डा हो। यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दुरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य,मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुगाउनुपर्छ,’ खनालले भने,‘त्यसका लागि सबै पार्टीहरू राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ ।’