काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको अनुसन्धानका कारण विकास निर्माणको काममा अवरोध नभएको बताउनुभएको छ । आयोगको ३२ औ वार्षिकोत्सव कार्यक्रममा प्रमुख आयुक्त राईले यस्तो बताउनुभएको हो ।
गत महिना प्रधानमन्त्री कार्यालयमा भएको सचिवहरुको बैठकमा अख्तियारले अनुसन्धानका नाममा हस्तक्षेप गरेको, सक्कलै फाइल मगाई लामो समय रोकेर राख्दा विकासका काम प्रभावित भएको विषय उठेको थियो । सोहि कुरातर्फ केन्द्रित गर्दै राईले यसरी विकास निर्माणका आयोजना प्रभावित हुनेगरी फाइल मगाउने र काम रोक्का राख्ने प्रवृत्ति अन्त्य गरेको लामो समय भइसकेको बताउनुभयो।
उहाँले आयोगलाई कारण देखाई कुनैपनि विकास निर्माण तथा सेवा प्रवाह गर्ने आफ्नो पदीय जिम्मेवारीवाट विमुख नहुन सार्वजनिक पदाधिकारीहरुलाई चेतावनी समेत दिनुभयो । पूर्वाधारहरुको निर्मांणमा बर्षेनी ठूलो रकम खर्च भएपनि गुणस्तर कायम हुन नसकेको र दिगो व्यवस्थापन हुन नसकेर स्रोतको दुरुपयोग भएको भन्दै उहाँले सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभयो ।
तीनै तहका शिक्षा, स्वस्थ्य, कृषि, खानेपानी, सरसफाइ लगायतका संवेदनशील सेवा क्षेत्रमा सरकारी स्रोतको हानी नोक्सानी र दुरुपयोग गरिएको भन्ने उजुरीहरू पछिल्लो दिनहरुमा बढिरहेको भन्दै प्रमुख आयुक्त राईले तदारुकताका साथ छानबिन तथा अनुसन्धान भइरहेको दावी गर्नुभयो ।
ढुंगा, गिट्टी, बालुवाको अनुचित उत्खनन् तथा दोहनलाई नियन्त्रण गर्नुपर्ने भएको भन्दै उनले त्यस्ता उजुरीमाथि निर्भिक भएर अनुसन्धान भइरहेको दावी गर्नुभयो। सरकारी कोषबाट अनुदान लिएर कागजी रुपमा काम भएको देखाउने तर कार्यस्थलमा अस्तित्वसम्म पनि नभेटिने विकास निर्माण भइरहेको भन्दै उहाँले ती क्षेत्रमा पनि अनुसन्धान भइरहेको बताउनुभयो ।
तीनै तहका सरकारबाट स्रोतको सुनिश्चितता र पूर्व तयारी विना ठेक्का लगाइएका र कतिपय महत्वपूर्ण आयोजना तोकिएको समयमा सम्पन्न नभई अलपत्र परेको भन्दै उहाँले जिम्मेवार पदाधिकारीमाथि अनुसन्धान बढाइएको बताउनुभयो।
सार्वजनिक निकायले हतारमा पूर्वाधार निर्माण गर्ने, विभिन्न यन्त्र उपकरण खरिद गर्ने, तर उपयोगमा नल्याउने भन्दै प्रमुख आयुक्त राईले यन्त्र उपकरण काम नलाग्ने अवस्थामा पुगेको बताउनुभयो ।ए ।