काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको बताउनु भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्याएको बताउनुभयो ।
भ्रष्टाचारका कारण नागरिकहरुमा सार्वजनिक निकाय र पदाधिकारीप्रतिको विश्वास र भरोसा गुम्नुका साथै समाजमा आर्थिक असमानता र विषमताको खाडल सिर्जना हुने उहाँको भनाइ छ। उहाँले भ्रष्टाचारले सेवा प्रवाहमा अनियमितता, राष्ट्रिय सम्पतीको दोहन, द्वन्द्वको सिर्जना र अन्तर्राष्ट्रिय सम्मानमा समेत कुठाराघात गर्ने हुँदा भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताउनुभयो।
संस्थागत रुपमा भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको सबैभन्दा प्रभावकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको उल्लेख गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्धन गर्ने कार्य आयोगको एकल प्रयासबाट मात्रै सम्भव नहुने पनि बताउनुभयो।
राष्ट्रपतिले मुलुकमा उपलब्ध साधन, स्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवम् भौतिक विकास क्षेत्रमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य रहेको भन्दै कानूनी राज्य, मानव अधिकार र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएको र भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो ।