काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले राजनीतिक दलप्रति जनताको चरम असन्तुष्टि रहेको बताउनु भएको छ। विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन उद्घाटन सत्रमा बोल्दै राउतले नेताहरूलाई गाली नगर्ने जनता नै नभएको बताउनुभयो ।
राउतले भननुभयो, ‘म इमान्दार छु भन्दैमा जनताले मत हाल्दैनन् । राजनीतिक दलहरूप्रति वितृष्णा छ। नेतालाई गाली नगर्ने जनता छैनन् जस्तो लाग्छ। जनताले राजनीतिक पार्टीमा आवद्ध भएपनि असन्तुष्टि जाहेर गर्दै आएका छन् ।’
वैकल्पिक राजनीतिले आफ्नो बाटो किन लैजान सकेन त ? यो अहम प्रश्न रहेको भन्दै राउतले भन्नुभयो, ‘चरम भ्रष्टाचार छ,कुशासन छ,तर वैकल्पिक शक्तिले जनताको आवाज क्यास गर्न सकेन। कतै न कतै वैकल्पिक शक्तिहरू ल्याबमा गरिएको परीक्षण जस्तो त भइरहेको छैन ।’
उहाँले राजनीति टिकाउन गमलामा राखेको गुलाबजस्तो नभएर जंगलमा उम्रेको गुलाबजस्तो हुनुपर्ने टिप्पणी समेत गर्नुभयो ।