काठमाडौं। नेपाल अमेरिका सम्बन्ध ब्रिटिशपछिको दोस्रो हो । करिब ७५ वर्षे लामो सम्बन्धलाई टिकाउनका निम्ति दुई देशबीच विभिन्न समयमा भ्रमण र आपसी छलफल भइरहेका हुन्छ । पछिल्लो समय त अमेरिकाले नेपालप्रति आफ्नो चासो बढाएको छ । गएको एक महिनामै चार जना अमेरिकी अधिकारीको भ्रमण तय भएको थियो । जसमध्ये तीनजना नेपाल आइसकेका छन् भने एकजना आउन बाँकी छन् । अमेरिकाले बढाएको चासो र चीनलाई पर्नसक्ने असुविधामा नेपाल चनाखो हुनु जरुरी छ । नेपाल भारत र चीनको सम्बन्धपनि लामो समयदेखि कायम छ ।
भारतसँग त झनै हाम्रो धर्म र संस्कृति पनि मिल्छ । चीनसँग सीमा जोडिएको हाम्रो भूमि ओलाङ्चुङगोलामा त चिनियाँसँग बिहेवारी समेत चल्दै आएको पाइन्छ । सात समुन्द्र पारीको मित्र राष्ट्रसँग पनि हामीले सम्बन्ध बिस्तार गर्नुछ । जसका लागि हामीले भन्ने गरेको असंलग्न परराष्ट्र नीतिलाई बलियो रुपमा कार्यान्वयन गर्नु आजको आवश्यकता हो । नेपाल आफै चनाखो बन्नुपर्ने परराष्ट्रविद् सुरेश चालिसेको भनाइ छ ।
नेपाल यतिबेला अर्थतन्त्रमा कमजोर बन्दै गएको छ । एकातर्फ राजनीतिले पनि सही ट्रयाक लिइसकेको छैन । पछिल्लो समय विभिन्न देशसँग नजिक बन्ने राजनीतिक नेतृत्वका कारण अमेरिका पनि सशंकीत भएको देखिन्छ । मुलुक असहजताबाट मुक्त हुने प्रयास गरिरहेको बेला विभिन्न राष्ट्रले आफ्ना गतिविधि बढाएको पाइन्छ ।
नेपालमा पछिल्लो समय चिनियाँ गतिविधि पनि उत्तिकै बढेको छ । विश्व अर्थतन्त्रमा आफूलाई बलियो ठान्ने अमेरिका र उसलाई उछिन्ने दाउमा लागेको चीनबीचका तिक्ततामा नेपाल चनाखो बन्नै पर्छ । नेपालसँग सीमा जोडिएकोले पनि चीन यहाँ हुने गतिविधिमा जानकार हुनु स्वभाविक हो । भाइ फुटे, गवाँर लुटे भनेजस्तै यहाँको राजनीतिक लडाईँले विदेशीहरु चलखेलमा उत्रिएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको भनाइ छ ।
नेपाल भूगोलले सानो भएपनि यहाँको सार्वभौमिकता, असंलग्न परराष्ट्रनीति, विभिन्न संस्कृति र धर्मको उद्गमस्थलमाथि कसैले पनि हेयको दृष्ट्रिकोण हेर्न मिल्दैन । जसका लागि यहाँको राजनीतिक नेतृत्व जवाफदेही हुनुपर्दछ ।