काठमाडौं।नेपालमा पछिल्लो समय अमेरिकाको चासो बढ्दै गएको छ । गएको एक महिनामा चार अमेरिकी महिला अधिकारीहरूको नेपाल भ्रमण तय भएको छ । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावरले नेपालको भ्रमण गरिसकेकी छन् । सामन्था राष्ट्रिय सुरक्षा परिषद्की सदस्य तथा क्याबिनेट तहकी अमेरिकी अधिकारी पनि हुन् । पावरपछि अमेरिकाबाट अर्का दुई वरिष्ठ अधिकारी आउने तय भएको छ ।
फागुन पहिलो साता दक्षिण तथा मध्यएसिया मामिला विभागकी उपसहायक राज्यमन्त्री अफ्रिन अख्तर र राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचारले नेपाल भ्रमण गर्न लागेका हुन् । नेपालमा अमेरिकीको तारन्तार भ्रमणमा कसैको चासो गएको देखिदैन । किन यसरी लगातार भ्रमण भइरहेको छ त ? राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीका अनुसार विश्वको शक्तिशाली मुलुकले नेपालमा आइरहनु सामान्य नै हो ।
दुई साताअघि नेपाल भ्रमण गरेकी उपमन्त्री नुल्यान्डले नेपालका उच्च पदाधिकारीसँगको भेटवार्तापछि मुख्य तीन सन्देश प्रवाह गरेर फर्केकी थिइन् । उनले अमेरिकाको नेपालमा चासो भनेको लोकतान्त्रिक दुई मुलुकबीचको सम्बन्धलाई बलियो बनाउँदै लैजाने भएको बताएकी थिइन् । संक्रमणकालीन न्याय, अमेरिकी आर्थिक सहयोग र चीन लक्षित सन्देश प्रवाह गर्दै नुल्यान्ड फर्केकी थिइन् ।
मंगलबार नेपाल आएकी यूएसएआईडीकी प्रमुख पावरले भ्रमणका दौरान नेपालका नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीसँग भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो बनाउने प्रयास र उपलब्धिबारे छलफल गरेकी छन् । नियमितजसो भएको भ्रमणबाट चनाखो बन्नुपर्ने नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्लको
परराष्ट्रविद् सुरेश चालिसेका अनुसार नेपाल–अमेरिका सम्बन्ध प्रगाढ रहेकोले भ्रमण भइरहेको हो । आगामी दिनमा थप सम्बन्ध सुधारका लागि यी भ्रमण कोशेढुंगा बन्नेछन् ।
लगातारका भ्रमणले दिएको एउटा सन्देश अब दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र साउथ चाइना समुद्र क्षेत्रमा अमेरिकी चासो बढिरहेको मान्न सकिन्छ । यी क्षेत्रमा चासो बढ्नुको कारण चीनकै गतिविधि निगरानी गर्नका लागि रहेको जानकारहरु बताउँछन् । नेपाल मात्र होइन, बंगलादेश र श्रीलंकालगायत मुलुकमा पनि अमेरिकी चासो बढिरहेको छ ।